चनमति बचत तथा ऋण सहकारीको पाँचौं साधारणसभा सम्पन्न



भक्तपुर सिरुटार स्थित चनमति बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो पाँचौ साधारणसभा २०२७१ मंसिर २७ गते शनिवार विहान स्थानीय सिरुटार इङ्गलिस स्कूल प्राङ्गणमा नेपाल सरकार, उद्योग मन्त्रालयका माननीय मन्त्री श्री महेश बस्नेतको प्रमुख आथित्य तथा राष्ट्रिय सहकारी बैंकका प्रबन्ध संचालक श्री के.बी. उप्रेतीको विशेष आतिथ्यमा सहकारीका अध्यक्ष श्री अष्टबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो ।
माननीय उद्योगमन्त्री महेश बस्नेतले समुद्घाटन गर्नु भएको सहकारीको पाँचौं साधारणसभामा सहकारीका उपायक्ष्य श्री रमण कायस्थले स्वागत मन्तव्य राख्नु भएको थियो । समाजका सचिव संजय श्रेष्ठबाट सहकारी संस्थाको आ.व.०७०/७१ को गतिविधि तथा आगामी वर्षको कार्य योजना पाँचौं साधारणसभा समक्ष प्रस्तुत गर्नु भएको थियो । हालसम्म सहकारी सदस्य संख्या ४७९ पुगेको जानकारी गराउनु भएको थियो । शेयर सदस्यहरुलाई १० प्रतिशत लाभान्स वितरण गर्ने समेत घोषणा गर्नु भएको थियो । संस्थाका आर्थिक प्रतिवेदन कोषाध्यक्षको प्रतिनिधित्व गर्दै संचालक समितिका सदस्य श्री राजकुमार श्रेष्ठले आ.व. ०७०/७१ को वितीय प्रगति विवरण तथा आ.व. ०७१/७२ को अनुमानित वितिय विवरण प्रस्तुत गर्नु भएको थियो । लेखा सुपरिवेक्षण समितिका तर्फबाट लेखा संयोजक दिलिप मिश्रले आन्तरिक लेखा परीक्षण प्रतिवेदन एवं लेखा परीक्षक श्री सुरेश शंखदेवको लेखा परीक्षण प्रतिवेदन समेत लेखा संयोजकबाट प्रस्तुत भएको थियो ।
प्रमुख अतिथि माननीय उद्योग मन्त्री महेश बस्नेतले उद्यमी बन्न चाहने महिलालाई लक्षित गर्दै सरकारले महिला उद्यमशीलता विकास कोषबाट कर्जा स्वरुप पाँचलाख रुपैयासम्म वार्षीक ५ प्रतिशत व्याजदरमा उपलव्ध गराउने जानकारी गराउनु भएको थियो । उद्योग मन्त्रालयअन्तर्गतको सो कोषको रकम राष्ट्रिय वाणिज्य बैङ्कमार्फत परिचालन गरिनेछ भएको हुँदा उक्त कार्यक्रमा सहकारीका महिला उद्यमीलाई सहभागी गराउन समेत सूचित गराउनु भयो । साथै स्थानीय प्रतिनिधी नभएको अवस्थामा स्थानीय सहकारीहरुले गाउँ र समाजको विकासको भूमिका निर्वाह गर्न अनुरोध गर्दै सहकारीको अझ प्रगतिको शुभकामना समेत दिनु भएको थियो ।
विशेष अतिथिको रुपमा उपस्थिति हुनु भएका राष्ट्रिय सहकारी बैंकका प्रवन्ध संचालक श्री केबी उप्रेती, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका पदाधिकारी श्री रामेश्वर चौलागाई, नेफस्कुन काठमाडौंका पदाधिकारी श्री नानीकाजी शाक्य, स्थानीय गुप्तेश्वर बचत तथा ऋण सहकारीका अध्यक्ष भाइकृष्ण श्रेष्ठ, पुष्पाञ्जली बचत तथा ऋण सहकारीका अध्यक्ष रघुनाथ रानाभाट, चमेरो बचत तथा ऋण सहकारीका अध्यक्ष ई भिमसेन श्रेष्ठ स्थानीय सामाजिक संस्था सिरु बौंद्धिक समाजका अध्यक्ष डा देवनारायण कार्की तथा सुप्रिम डेभलप्मेन्ट बैंकका शाखा प्रबन्धक रमेश लामिछानेले सहकारीको सफलता र उत्तरोत्तर प्रगतिको लागि शुभकामना दिनु भएको थियो ।
उक्त समारोहमा प्रमुख अतिथि माननीय उद्योग मन्त्री बस्नेतज्यूबाट स्थानीय जेष्ठ नागरिक तथा जेष्ठ सदस्यहरु ८९ वर्षीय लक्ष्मीकृष्ण श्रेष्ठ, ७३ वर्षीय सूर्यमाया बोडेल श्रेष्ठ लगायत इन्द्रमाया श्रेष्ठ, हरिशरण श्रेष्ठ, मसिनु श्रेष्ठ ज्ञानबहादुर खड्का, प्राणमाया कायस्थ, गणेशमान श्रेष्ठ तथा रत्न माया तकाछे श्रेष्ठलाई दीर्घायु, सुस्वास्थ्य र सुखमय भविष्यको कामना गर्दै सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । बालबचतलाई प्रोत्साहन गर्न सबैभन्दा कनिष्ठ बचतकर्ता वर्ष १ का अभय श्रेष्ठलाई समेत प्रमुख अतिथिबाट सम्मान गरिएको थियो ।
अन्तमा अध्यक्ष एवं कार्यक्रमका सभापति अष्टबहादुर श्रेष्ठले संस्थाको प्रगति विवरण, भावि योजना प्रस्तुत गर्नुका साथै पाँचौं वार्षिक साधारण सभा सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सम्पूर्ण शेयर सदस्य, पदाधिकारी, सल्लाहकार एवं कर्मचारीहरुलाई धन्यावाद दिनुका साथै समापन मन्तव्य दिनु भएको थियो ।

Comments

Popular posts from this blog

चनमतिको आठौ साधारणसभा सम्पन्न